Thaha

Saturday 21 September - 11:40 pm NST

कांग्रेस  वरिष्ठ नेता देउवाद्धारा प्यानल घोषणा, महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादव


काठमण्डौं, २० फागुन । 

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफू सभापति रहेका प्यानल आज घोषणा गर्नु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरेर देउवाले आफ्नो प्यानलबाट महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवको उम्मेदवारी घोषणा गर्नु भयो । प्यानल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता देउवाले १३ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि आफूले पार्टीमा गुटबन्दीको अन्त्य गर्ने बताउनु भएको छ ।

 

संविधान कार्यान्वयनका लागि विभिन्न कानुन बनाउनु पर्ने भएकाले आफूले अरुदलहरुलाई पनि साथ लिएर संविधान कार्यान्वयन गर्ने र वामपन्थीदलहरुलाई पनि लोकतान्त्रिक विधि प्रकृयामा ल्याउने देउवाको भनाई छ । समावेशीताको कुरा सबैभन्दा पहिले आफूले राखेकाले पार्टीलाई अझै धेरै समावेशी गराउने देउवाले प्रतिवद्धता जनाउनु भयो ।  

 

यसैबीच, नेतृ सुजाता कोईरालाले सभापतिमा रामचन्द्र पौडेललाई समर्थन गर्दै आफ्नो उमेद्बारी फिर्ता लिनु भएको छ । कोईरालाले पत्रकार सम्मेलन गरी, पार्टीलाई एकढिक्का बनाएर लैजाने क्षमता भएका पुराना नेता पौडेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको र अब केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बताउनुभयो । कोइरालाले हिजो प्यानलबिनै सभापतिमा उमेद्बारी घोषणा गर्नुभएको थियो । पत्रकार सम्मेलनमा कार्यवाहक सभापति रामचन्द्र पौडेलले वरिष्ठ नेता देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि आफूुसंगै आउन र विचलित नहुन आग्रह गर्नुभयो ।

 

हिजो कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृण्ण प्रसाद सिटौलाले प्यानलसहीत उम्मेद्धारी घोषणा गर्नुभएको थियो । पौडेलले कोषाध्यक्षबिनाको प्यानल घोषणा गर्नुभयो भने महामन्त्रीको उम्मेदवारमा सशांक कोइराला हुनुहुन्छ । त्यस्तै सिटौलाको प्यानलबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेद्वारी घोषणा गर्नु भएको छ ।